चार दिनसम्म मनाइने महापर्व छठको सुरुवात ‘नहाय खाय’सँगसँगै नै सुरु हुन्छ । मुख्यतः गोवर्धन पूजाको दिन बर्तालुहरू ‘गोधन कुटे’देखि नै छठ पूजाको पूर्व तयारी हुन थाल्छ । गोधन कुटेदेखि ‘नहाय खाय’बिचको समयमा छठ पूजाको विभिन्न तयारी जस्तैः माटोको नयाँ चुलो बनाउने, साठी धान सुकाउने तथा पर्वमा आवश्यक पर्ने अन्य सामाग्रीको व्यवस्थापन गर्ने गरिन्छ । छठ पर्वको सुरुवात ‘नहाय खाय’को दिनबाट विधिपूर्वक शुरुवात हुन्छ ।
धार्मिक मान्यताअनुसार छठ पर्व सन्तानको प्राप्ति, कुशलता, दीर्घायु, स्वास्थ्य लाभ तथा मानव कल्याण, विश्व शान्ति, मङ्गल कामनाका साथ गर्ने गरिन्छ । छठ पूजामा व्रतालुहरूलाई चार दिनसम्म पवित्रताको विशेष ध्यान राख्नुपर्दछ । चार दिनसम्म मनाइने यो महापर्व हिन्दु पञ्चाङ्गअनुसार छठ पुजा कार्तिक महिनाको शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ ।
हिन्दु धर्मशास्त्रअनुसार ‘छ्ठी मईया’ भगवान ब्रह्माजीको मानस पुत्री तथा सूर्य देवको बहिनी हुन् । उनलाई नै प्रसन्न गर्न छठ व्रतको सुरुवात गरिएको हो । ब्रह्मवैवर्त पुराणमा उल्लेख भएअनुसार ब्रह्माजीले सृष्टि रचना गर्न स्वयम् आफैलाई दुई भागमा विभाजित गरेका थिए । दायाँ भागमा पुरुष र बायाँ भागमा प्रकृति (महिला) रूप धारण गरेका थिए । सृष्टिको अधिष्ठात्री प्रकृति देवी स्वयम् आफैं छ भागमा विभाजित भएको पाइन्छ । उनको छैटौँ अंश सर्वश्रेष्ठ मातृ देवीको रूपमा प्रख्यात छन् । प्रकृतिको छैटौँ अंश भएको कारण उनको नाम षष्ठी परेको हो । जो चाहिँ ‘छठी मैया’को नामले चिनिएकी छिन् । धार्मिक मान्यताअनुसार शिशु जन्मेको छैटौँ दिनमा मनाइने छठीयारमा पनि यही माताको पुजा गरिन्छ । माताको उपासनाले बच्चाको स्वास्थ्य, सफलता तथा दीर्घायुको आशीर्वाद प्राप्त हुन्छ । पुराणमा यसै देवीको नाम कात्यायनी बताइएको छ । जसको नवरात्रिमा षष्ठी तिथिमा पुजा गरिन्छ ।
>
व्रतको शुरुवात
ब्रह्मवैवर्त पुराण कथाअनुसार, सन्तान प्राप्त नभएपछि दुःखीत भएको प्रथम मनुको पुत्र राजा प्रियव्रतले महर्षी कश्यपले भनेअनुसार महायज्ञ सम्पन्न गरे । जसको परिणाम स्वरूप उनको पत्नी गर्भवती भइन् । तर, दुर्भाग्यवस बच्चाको गर्भमै मृत्यु भयो । यस कारण पूरै राज्यमा दुःखद माहोल सिर्जना भयो । त्यसै समय आकाशमा एउटा चम्किलो पत्थर देखियो । जुन पत्थरमा षष्ठी माता विराजमान थिइन् । राजाले देखेपछि उनको परिचय सोधे अनि माता षष्ठीले भनिन्, “म ब्रह्माको मानस पुत्री, मेरो नाम षष्ठी देवी हो । म संसारभरिको शिशुहरूको रक्षक तथा सबै निःसन्तान महिलालाई सन्तान सुखको आशीर्वाद प्रदान गर्दछु ।”
तत्पश्चात राजा प्रियव्रतको प्रार्थनाअनुसार देवी षष्ठीले बच्चालाई जीवित पार्नुका साथै दीर्घायुको बरदान दिइन् । षष्ठीदेवीको कृपा देखेर राजा प्रियव्रत निकै प्रसन्न भई षष्ठी देवीको पुजा आराधना गरे । लोक मान्यताअनुसार राजा प्रियव्रतले छठी माताको पुजा गरेपश्चात् यो पर्व मनाउनु थालिएको हो । छठ पर्व तराई–मधेशको महत्वपूर्ण पर्व हो । चार दिनसम्म हर्षोल्लासका साथ मनाइने यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमी तिथिसम्म मनाइन्छ ।
नहाय खाय
छठ पर्वको पहिलो दिन अर्थात् कार्तिक महिनाको शुक्ल चतुर्थी ‘नहाय खाय’को दिन व्रतालुहरू जलाशय नदी, पोखरी तथा ताल आदिमा नुहाएर नयाँ कपडा लगाएर लहसुन, प्याज रहित शुद्ध शाकाहारी खाना खान्छन् । फर्सी र लौकाको तरकारी तथा चना वा रहरको दाल खानामा अनिवार्य हुनुपर्छ । यस दिन व्रतालुले खाना खाएपछि मात्र घरको अन्य सदस्यले खाना खान्छन् ।
खरना
छठ पूजाको दोस्रो दिन पञ्चमी तिथिमा खरनाको दिन व्रतालुहरू बिहानको खाना नखाई, दिनभरी व्रत बस्छन् । खरनाको राति चामल र गुडबाट बनेको खिर प्रसादको रूपमा छठी माईलाई खरना पूजामा अर्पण गर्छन् । आँपको दाउरा तथा गोईठाको आगोको हवनमा प्रसाद, धुप, तिल, जौ आदिबाट हवन गरिन्छ । माटोबाट बनेको नयाँ चुलोमा गोईठा तथा आँपको दाउराको आगोमा प्रसाद पकाइन्छ । यस दिनमा व्रतालुले नुन खानु हुँदैन । व्रतालुहरू खरनाका दिनभरी भोकै बस्छन् र राति खरना पूजाको प्रसाद चामल र गुडबाट बनेको खिर मात्र खान्छन् । खरनापश्चात छठ व्रतालुहरूले ३६ घण्टाको निर्जला उपवास व्रत ‘पारना’सम्म बस्छन् ।
सम्झिया घाट÷सन्ध्या अर्घ
छठ पूजाको तेस्रो दिन, कार्तिक महिनाको शुक्ल षष्ठी तिथि, छठ पूजाको सबैभन्दा महत्वपूर्ण दिन हो । सम्झिया घाटको नामले प्रख्यात यस दिन व्रतालुहरू जलाशय घाटमा गएर अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिन्छन् । डाला÷टोकरीमा फलफूल, ठेकुवा, कसार, गुड, मिठाई, उखु, कागती, हरियोपातसहितको अदुवा इत्यादि पुजा सामाग्रीबाट अर्घको सुपली सजाइन्छ । नदी, जलाशयमा कमरसम्म पानीमा उभिएर अर्घ दिइन्छ । व्रत हुने जलाशय घाटलाई फूल, बत्ती, टेन्ट, बाजागाजासहित मनमोहक ढंगले सजाइएको हुन्छ । घाटमा सुमधुर छठ लोक गितहरू गुन्जीरहेको हुन्छ । व्रतालुहरू रातभरि घाटमा जाग्रम बसी सुमधुर छठ लोक गित गाउँदै, पूजाआजा गर्दछन् ।
>
केरवा जे फरेला गवद से, ओह पर सुगा मंडराय ।
उ जे खबरी जनइबो आदिक से, सुगा देले जुठियाए । ।
उजे मरबो रे सुगवा धनुक से, सुगा गिरे मुरझाय ।
उजे सुगनी जे रोबे ले वियोग से, आदित होई ना सहाय । ।
उदाउँदो सूर्यलाई अर्घ
चौथो दिन, कार्तिक महिनाको शुक्ल सप्तमी तिथि, छठ महापर्वको अन्तिम दिन हो । व्रतालुहरूले बिहानको उदाउँदो सूर्यलाई अर्घ दिन्छन् । उदाउँदो सूर्यलाई अर्घ दिएपश्चात, छठ व्रत समापन हुन्छ । यसपश्चात व्रतालुहरू पारन गर्दछन् । छठ व्रतमा अर्घ चढाइएको ‘प्रसाद, गुँड र अदुवा’को सेवन गरेर व्रतालुहरूले पारना गरिन्छ ।
तराई–मधेशको निकै धुमधाम र आस्थाको साथ मनाइने यो पर्वलाई पारिवारिक पुनर्मिलन तथा साथीभाइ, इस्टमित्र तथा सामाजिक भेटघाटको एउटा मौकासमेतको रूपमा लिइन्छ । यसले एकअर्कामा आत्मियताको विकास गर्न पनि भूमिका खेलिरहेको पाइन्छ । छठ व्रतमा, छठको धार्मिक लोकगीत गाएर व्रतालुहरू पुजा गर्दछन् । छठ पर्वको प्रसाद ठेकुवा, कसार, मिठाई, फलफूल प्रसाद दिदीबहिनी तथा छोरीचेलीको घरमा सनेस÷कोसेलीको रूपमा बुबाआमा तथा दाजुभाइले लानुपर्ने चलन परापूर्वकालदेखि चलिआएको छ ।
>>